जापानले पुनःनिर्माणपछि विपी राजमार्ग नेपाललाई हस्तान्तरण गर्यो
Published: (Updated: )
by .काठमाण्डौ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको मन्त्री नेम्बाङ्गले जानकारी दिए ।
नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गर्दै उनले भने, ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु ।’
नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापनीय राजदुत मासा मिची साइगोको साथ र समन्वयकोसमेत प्रशंसा गरे ।
त्यस्तै, जापनीज राजदुत मासा मिची साइगोले नेपाल र जापान बीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने जानकारी दिए ।
राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्प पछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।
विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भयो । पुनःर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।
Comments