खुदुनाबारीमा धौलागिरी पारिजातको नयाँ शाखा खुल्यो
Published:
by .अर्जुनधारा । बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि अर्जुनधारा १ खुदुनाबारीको सिस्नेमा सुरुवात गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर खतिवडाले कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर संस्थाको सेवा केन्द्र उद्घाटन गरिदिएका हुन् । कार्यालयको उद्घाटन गर्दै वडाध्यक्ष खतिवडाले समाजको रुपान्तरणमा सहकारीको भूमिका अहम् हुने भएकाले आफ्नो वडा कार्यालय धौलागिरीसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा आयोजित शाखा उद्घाटन कार्यक्रममा संस्थाको वित्तीय अवस्थितिबारे जानकारी दिइएको थियो । अध्यक्ष पौडेलले सहकारीको प्रतिष्पर्धी कारोबारमा आफ्नो संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए ।
उनका अनुसार गएको असार मसान्तमा संस्थासँग २ करोड ९१ लाख १० हजार ८०० रुपैयाँ शेयर पूँजी रहेको तथा १३ करोड ७९ लाख ७७ हजार रुपैयाँभन्दा बढी निक्षेप मौज्दात रहेको जानकारी गराए । सो अवधिमा संस्थाको सञ्चित कोषमा एक करोड ५५ लाख ७१ हजार रुपैयाँभन्दा बढी रकम सञ्चित रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
संस्थामा पाँच हजार ५०० भन्दा बढी शेयर सदस्य आवद्ध छन् । संस्थाको मुख्य कार्यालय बिर्तामोडमा रहेको छ भने जिल्लाका विभिन्न ४ स्थानबाट यसअघिबाटै सेवा प्रवाह गरिरहेको छ । संस्थाका कार्यकारी अधिकृत युवराज ढकालका अनुसार बुद्धशान्ति गाउँपालिकाको जयपुर, हल्दिबारी गाउँपालिकाको गोलधाप, अर्जुनधारा नगरपालिकाको लक्ष्मीपुर र बुद्धशान्ति गाउँपालिकाको बुधबारेबाट सेवा प्रवाह गरिरहेको छ । खुदुनाबारीको सिस्नेमा सुरु गरिएको कार्यालय संस्थाको पाँचौं शाखा हो ।
शाखा उद्घाटन कार्यक्रममा संस्थाका सचिव किशोर भट्टराईले खुदुनाबारीको सिस्नेमा धौलागिरीले सेवा बिस्तार गरेर यहाँका शुभेच्छुकहरुबाट माया पाउने अपेक्षा सुनाए । कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै सचिव भट्टराईले संस्थाले आजदेखि लागू हुनेगरी सिङ्गल डिजिटमा कर्जा लगानी थालिएको अवगत पनि गराए ।
सो अवसरमा हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक भोलानाथ वाग्ले, पत्रकार तीर्थ सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Comments