Sajhamanch Archive

खोप लगाएकालाई नेपाल आउन दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएकालाई सहज रूपमा नेपाल आउन दिने प्रस्ताव गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल आउन दिन सहज गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् ।

शुक्रबार पत्रकारहरुसँगको छलफलमा उनले सबैको सुझावको आधारमा खोप लगाएको प्रमाणसहित नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा दिने विषयमा प्रस्ताव लैजाने बताए । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित रहेको भन्दै यस क्षेत्रलाई कसरी सहज गराउने विषयमा मन्त्रालयले काम गरिरहेको उनले बताए ।

मन्त्री ढकालले दुई दिन सार्वजनिक बिदा दिने वा वर्षमा निश्चित दिन पर्यटन बिदा दिने विषयमा छलफल भइरहेको बताए । “हप्ताको एक दिनको हिसाबले वर्षमा घुम्नको लागि नै बिदा दिने भन्ने बढी व्यावहारिक हुने र त्यसले पर्यटन प्रवर्द्धन हुन्छ । हामी छलफलमा छौँ,’’ उनले भने ।

उनले निर्माणाधीन विमानस्थल सम्पन्न गर्न प्राविधिकहरुका कारण विलम्ब भएको रिपोर्ट आएकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशबाट प्राविधिक ल्याउन पहल भइरहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान प्रवेशको अनुमतिका लागि भारत सरकारसँग छलफल भइरहेको जानकारी दिए । पछिल्लोपटक परराष्ट्रमन्त्रीको भारत भ्रमणको बेलामा पनि छलफल भएको उनले बताए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *