Sajhamanch Archive

न्याय माग्दा अदालतको अपहेलना नहुने : गगन थापा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउन आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरे पनि एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै थापाले न्याय माग्दा अदालतको अपहेलना नहुने तर्क गरेका छन्।

आज शान्तिबाटिका काठमाडौंमा प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेसले गरेको विरोध सभामा बोलेका थापाले संविधानमाथि घात भएकोले यो कदम सच्याउन सबै एकजुट हुनुपर्ने बताए।

‘न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान्,’ थापाले भने। उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई संविधानमाथि घात भएको अर्थ लगाएका छन्।

साथै संविधानलाई ट्याकमा फर्काउँदै व्यवस्था जोगाउनुपर्ने उनले बताए। ‘यो प्रतिनिधि सभाको होइन संविधानकै विघटन हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको थापाको भनाइ छ।

‘तपाईंको नाम अधिकार खोस्ने शासकका पङ्तिमा लेखिनेछ,’ उनले भने, ‘जनताका अधिकारका लागि लड्नेहरूको पानामा तपाईंको नाम भेटिँदैन।’

कांग्रेसले चुनावको हिसावको कुरा गरेर बस्न नहुने उनले बताए। व्यवस्था बचाउन लागे पछि हुने चुनावमा कांग्रेसले जित्ने पनि उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *