Sajhamanch Archive

राष्ट्रिय महिला लिग; सावित्रालाई सावित्रीको पर्खाल

Published: in खेलकुद by .

काठमाडौं । गोलकिपर सावित्री किसनको उत्कृष्ट प्रदर्शनका बावजुद स्याङ्जाको वालिङ नगरपालिका शनिबार राष्ट्रिय महिला लिगमा शीर्ष टोली एपिएफसँग निराश भएको छ। लिगअन्तर्गत शनिबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीले गोललय कायम राख्दा एपिएफले वालिङमाथि ३–० को सहज जित हात पारेको हो। एपिएफको जितमा सावित्राले २ र प्रीति राईले १ गोल गरेका थिए। जारी प्रतियोगितामा सावित्राको यो १२औं गोल हो।

५ खेलको समाप्तिमा शतप्रतिशत नतिजा ल्याएको एपिएफ १५ अंकका साथ शीर्ष स्थानमा छ। ४ खेलमा ७ अंक बटुलेको त्रिभुवन आर्मी क्लब दोस्रो, समान खेलमा समान ७ अंक जोडेको विराटनगर महानगरपालिका तेस्रो, ५ अंकका साथ नेपाल पुलिस चौथो, ५ अंक जोडेको वालिङ नगरपालिका पाँचौं, ३ अंकका साथ चन्द्रपुर नगरपालिका छैटौैं र अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका सातौं स्थानमा छन्।

एपिएफविरुद्ध सावित्रीले सावित्रा भण्डारीसँग दुई पटक र कप्तान अनिता बस्नेतसँग १ पटक वान भर्सेस वानमा उत्कृष्ट बचाउ गरेकी थिइन्। साथै उनले एपिएफको अन्य ११ वटा उत्कृष्ट सट पनि विफल पार्दै आफ्नो टोलीको फराकिलो हार संकट टारेकी थिइन्। ‘एपिएफ प्रतियोगिताकै बलियो टोली थियो, त्यसमाथि टोलीमा नेपालकै उत्कृष्ट स्ट्राइकर सावित्रा थिइन्,’ सावित्रीले भनिन्, ‘प्रशिक्षकले मलाई कुन खेलाडी उत्कृष्ट भन्नेमा ध्यान केन्द्रित गर्न भन्दा पनि आफ्नो स्वाभाविक खेल खेल्न निर्देशन दिनुभएको थियो। मैले त्यसलाई नै फलो गरेकी हुँ।

उत्कृष्ट खेलाडीको प्रहार विफल पार्दा खुसी छु, तर टोलीको हारमा भने निराश छु। आशा छ, मैले आगमी खेलमा थप उत्कृष्ट प्रदर्शन गर्न सक्छु।’यसअघि शनिबारै भएको खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६–० को फराकिलो जित हात पारेको थियो। विराटनगरको जितमा अनु राईले २ तथा इमा राई,मनीषा थापामगर, कुसुम खतिवडा र पार्वती घलेले समान १ गोल गरेका थिए।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *