Sajhamanch Archive

एनएमसीमा परिषद् बैठक धमाधम हुँदै, आज बिर्तामोडको सम्पन्न

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । सहकारीका विभिन्न आयामहरु बचत तथा ऋण, उत्पादन तथा खरिदबिक्री र बजारीकरण गरी पूर्ण च्यानलमा सञ्चालन गरेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले सहकारी अभियानलाई मजवुत बनाएको प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाले बताएका छन् ।

संस्थाको पाँचौं इकाई परिषद् अन्तरगत बिर्तामोड क्षेत्रीय बैठकमा प्रमुख अतिथिका रुपमा सोमबार बिर्तामोड आएका प्रदेश रजिष्ट्रार निरौलाले एनएमसीले आफ्ना सदस्यहरुलाई सक्रिय बनाउन ईकाई समिति बनाएर वर्षेनी यस्तो बैठक गर्नुले अरु सहकारीका लागि पनि प्रेरणा बन्ने गरेको धारणा राखेका थिए ।

सो बैठकमा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाले निर्धारण गरेका सबै कार्यक्रमलाई सदस्यसम्म सोझै पुर्याउने र कार्यान्वयन गराउने पहिलो काम तथा जिम्मेवारी ईकाई समितिको रहने अवगत गराए । हाल एनएमसीका ४० वटा बैंकिङ कार्यालय अन्तरगत २०६ वटा इकाई समिति रहेको जनाउँदै अध्यक्ष उप्रेतीले यिनीहरु एनएमसीका बलियो आधार भएको सुनाए ।

गत पुष मसान्तसम्म संस्थामा ९५ हजार ५७६ जना शेयर सदस्य रहेको जनाउँदै अध्यक्ष उप्रेतीले यही माघ २२ गतेभित्र सबै इकाई परिषद सम्पन्न गर्ने जानकारी दिए । संस्थाले पुस मसान्तसम्म एक अर्ब तीन करोड ३६ लाख ८४ हजार शेयर पूँजी निर्माण गरेको तथा ६ महिनाको अवधिमा १२ करोड ४७ लाख ६३ हजार रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले अहिले बैकिङ कारोबार, डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म, सहकारी पसल र चिया उद्योग गरी पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । ईकाई परिषद् बैठकमा क्षेत्रीयस्तरमा उत्कृष्ट बनेको बिर्तामोडको महानन्द चोक इकाईलाई पुरस्कार र सम्मान गरिएको थियो । यसैगरी सबै सातवटै कार्यालय अन्तरगतका उत्कृष्ट ईकाईबाट अनुभवहरु प्रस्तुति गरिएको थियो ।

संस्थाका सञ्चालक सदस्य एवम् बिर्तामोड क्षेत्रीय संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई बिर्तामोड कार्यालयगत उपसमितिका संयोजक शान्ता रोक्काले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो बैठकको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड कार्यालयका प्रमुख होमनाथ मैनाली (विकाश)ले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *