Sajhamanch Archive

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यान्मार सेनालाई कडा चेतावनी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार by .

एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारको ध्यानाकर्षण बढेको छ । विभिन्न देशले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै चेतावनी दिएका छन् ।

बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँको सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् । उनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा नभए अमेरिकाले “उचित कदम” चाल्ने चेतावनी पनि दिएका छन् ।

बिबिसीका अनुसार अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले पनि नेतृ सू चीको गिरफ्तारीलाई “भयभीत पार्ने” हर्कत भनी व्याख्या गरेका छन् ।

म्यानमारमा राष्ट्रपति लगायतका उच्च नेताहरू सेनाले नियन्त्रणमा लिएर एकवर्षे संकटकाल घोषणा गरेपछि संयुक्त राष्ट्रसंघको ध्यान पनि त्यतै मोडिएको हो । राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भएको ‘कू’बारे छलफल गर्न मङ्गलवार आपतकालीन बैठक बोलाएको छ ।

म्यानमारको पछिल्लो घटनाको युरोपेली संघका अतिरिक्त अस्ट्रेलिया, भारत, जापान, नेपाल लगायत देशले विरोध जनाउँदै प्रजातन्त्र फिर्ता गर्न अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *