सर्वोच्चमा प्रचण्डविरुद्ध अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतमा परेको अवहेलना मुद्दाको आज सुनुवाइ हुने भएको छ । अधिवक्ता समीर हायूले दर्ता गराएको सो मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्न लागेको हो ।
रिटमा नेकपा अध्यक्ष दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गरिएको छ । रिटमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गरिएको छ ।
अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा दाहालले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गरिएको छ ।
सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ । उनीहरु सबैलाई गत बिहीबार अदालतले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
Comments