Sajhamanch Archive

जोतभोगका आधारमा १० हजारलाई धनीपुर्जा वितरण गरिने

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताए ।

नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताए । हाल कनकाईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउँछन् ।

नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।

प्रदेश नंं १ को कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको बताइएको छ । आफूसँग जमीन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैंकिङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहुँदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की स्थानीयवासी तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुशी व्यक्त गरे ।

वर्षौदेखि जमीन जोतभोग गरिरहेको भए पनि धनीपुर्जा नहुँदाको अवस्थामा भोगेको पीडा सुनाउँदै काफ्लेले ढिलै भए पनि अब घर–घरमा सिंहदरबार आए झैं महसुस हुन थालेको बताइन् । बसोबास भएको जमीनको धनीपुर्जा नहुँदा जे–जति समस्या झेल्नु परे पनि भावी पुस्ताका लागि अब सहज हुने आशा पलाएको स्थानीयवासी बताउँछन् ।

जतिसक्दो चाँडो स्थानीयवासीलाई धनीपुर्जा वितरण गर्ने कार्यमा जनप्रतिनिधिका तर्फबाट आफूहरु लागेको बताउँदै स्थानीय सरकार प्रमुख पोखरेलले यो ऐतिहासिक कार्यका लागि सम्बन्धित सबैसँग धैर्यताका साथ एकजुट हुन आग्रह गरेका छन् ।

कनकाई नगर क्षेत्रमा वषौंदेखि जोतभोग भइरहेका जमीनको धनीपुर्जा वितरणका लागि यसअघि पनि विभिन्न चरणमा आएका भूमिसम्बन्धी समस्या समाधान आयोगले धनीपुर्जा वितरणको काम गर्न नसक्दा स्थानीयवासीले गुनासो गर्दै आएका थिए । यसपटक पनि वर्तमान अवस्थामा देशको राजनीतिमा देखिएको विचलनका कारण धनीपुर्जा वितरणमा समस्या त आउँदैन रु भन्ने जिज्ञासामा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले अब कनकाई नगर क्षेत्रमा धनीपुर्जा वितरणको काममा राष्ट्रिय राजनीतिले कुनै असर नपार्ने बताए ।

आवश्यक प्रक्रिया पूरा गरी स्थानीय सरकारका तर्फबाट सम्बन्धित व्यक्ति तथा परिवारलाई बसोबास र जोतभोगका आधारमा जग्गाधनी दर्ता पूर्जा वितरण गरेरै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरवासीलाई सकारात्मक सोचका साथ ढुक्क रहन अनुरोध गरेका छन् ।

बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमीनका लागि पाँच कठ्ठा १८ धुर जमीन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमीन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *