कर्णाली साकोसद्वारा समाउल हकको १० लाख ६२ हजार ऋण मिनाहा
Published:
by .शरणामति । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिका वडा नं. ४ बाँसबारीका एक परिवारको १० लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएको छ ।
संस्थामा शेयर सदस्य बनी २०७७ असार १७ गते २० लाख रुपैयाँ कर्जा लिएका समाउल हकको गत पुष १ गते निधन भएपछि आज माघ २१ गते उनको परिवारलाई कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो ।
समाउलको निधन हुँदासम्म संस्थामा १७ लाख ७० हजार ३०० रुपैयाँ ऋण रहेकोमा कर्णाली साकोसको सदस्य सुविधा एवम् कर्जा नीति अनुसार १० लाख ६२ हजार १७४ रुपैयाँ मिनाहा गरिएको अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिएका छन् ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहाको प्रमुख आतिथ्यमा कामाटोलीमा आज आयोजित सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रमका बीच कर्जा मिनाहाको पत्र निधनित सदस्य हककी पत्नी आलेखा जानलाई प्रदान गरिएको हो ।
सोही अवसरमा सदस्य काजकिरिया खर्चवापत ६ हजार रुपैयाँ पनि नगदै प्रदान गरियो । उक्त पत्र ग्रहण गर्ने समयमा पत्नी आलेखा जान रोएपछि माहोल नै भावुक बनेको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष साहाले सहकारीको उद्देश्य पैसाको कारोबार गरेर नाफा कमाउने मात्र नभई सदस्य एवम् समुदायको हितमा काम गर्नु रहेको औंल्याए । उनले कर्णाली साकोसले झापा गाउँपालिकामा सेवा विस्तार गरेर सामाजिक उत्तरदायित्व पूरा गरिरहेको पनि बताए ।
सहकारीले सस्तो ब्याजदरमा सदस्यलाई कर्जा लगानी गरेर गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याइरहेको मात्र नभई स्थानीय सरकारका लागि आर्थिक भौतिक सहयोग प्रदान गरेर सामाजिक उत्तरदायित्व पनि निर्वाहा गरिरहेको गाउँपालिका अध्यक्ष साहाको भनाई छ ।
सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रममा संस्थाका सचिव भूपाल बस्नेतले कर्णालीका शेयर सदस्यले संस्थाद्वारा सञ्चालित विशेष उपचार कोषको सदस्य बनेर पाउने सुविधाका बारेमा अवगत गराएका थिए ।
कर्णाली साकोसमा विशेष उपचार कोषको सदस्य बन्न पाँच हजार रुपैयाँ तिर्नुपर्नेछ भने हरेक वर्ष एक हजारका दरले नविकरण शुल्क बुझाउनु पर्ने जनाइएको छ । उपचार कोषमा आवद्ध शेयर सदस्य स्वयम् बिरामी भई उपचार गर्नुपरेमा १० लाख रुपैयाँसम्म सुविधा पाउनेछन् भने परिवारका अरु सदस्यहरुबाट पनि एक हजारका दरले शुल्क बुझाएर सदस्य बन्नसक्ने जनाइएको छ ।
यस्तो विशेष कोषको सदस्य बनेका स्वयम्को वा तिनका पति पत्नीको मृत्युमा ४० हजार रुपैयाँ मृत्यु राहत प्रदान गरिने व्यवस्था रहेको संस्थाका सचिव बस्नेतले अवगत गराए । यसैगरी सदस्यका आमा, बुवा, सासू वा ससुराको मृत्युमा २० हजार रुपैयाँ र छोरा छोरीको मृत्युमा १० हजार रुपैयाँ राहत दिइने उनले बताए ।
कर्णाली साकोस शरणामति सेवा केन्द्रका उपसमिति संयोजक टंक विश्वकर्माको अध्यक्षतामा कामाटोलीमा आज सम्पन्न सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रमको सञ्चालन उपसमितिका रुद्र बजगाईंले गरेका थिए ।
Comments