पर्वतमा दुई पूलको एकसाथ उद्घाटन
Published:
by .पर्वत । जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न गरिएका दुई पक्की पूलको एकसाथ उद्घाटन गरिएको छ । मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रती खोला पूलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पूल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरेका हुन् ।
रती खोलामा निर्माण गरिएको पूल १० करोड ४५ लाख ९८ हजारको लागतमा सम्पन्न गरिएको हो । सो पूलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १ दशमलव ७५ मिटरको फुटपाथ रहेको पूलको चौडाई ७ दशमलव ५० रहेको छ । पूल निर्माण भएपछि वर्षैदेखि खोलाबाट हिड्न बाध्य मोदी गाउँपालिका वडा नं ६,७ र ८ का बासिन्दा हर्षित भएका छन् ।
पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने सो पूलबाट मोदी गाउँ चित्रे–आर्थर–कार्र्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्ला समेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भईरहेको पोखरा–पामे–पन्चासे सडकलाई समेत उक्त पूलले जोडेको छ ।
अम्बोट खोलामा निर्माण सम्पन्न गरिएको पुलबाट कुश्मा नगरपालिका वडा नं ३ का साथै मोदी गाउँपालिका वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीय लाभान्वित भएका छन् ।
अम्बोेट खोलामा निर्मित पूलको लम्बाई २५ मिटर र चौडाई ७ दशमलव ५० मिटर रहेको छ । सिग्गल स्पान रहेको यो पुल ४ करोड १७ लाख ६२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । उक्त पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयले बताएका छन् ।
विकास निर्माणका कामको गति बढाउनुपर्छ ;अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधार विकास निर्माणको काममा देशले थप गति दिनुपर्ने बताएका छन् । पुल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले आगडि बढाएका काम समयमा सम्पन्न गर्न सम्बन्धित कार्यालय तथा निर्माण व्यवसायीले आफ्नो कामको गतिमा बृद्धि गर्नुपर्ने बताए ।
उनले राजनीतिक परिवर्तन सँगै समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समयमा काम सपन्न नहुँदा योजनाहरु अलपत्र पर्ने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । आफ्नो गृह जिल्ला पर्वतमा अहिले संघीय सरकार तथा प्रदेश सरकारमार्फत राष्ट्रिय गौरव मध्यपहाडी, कालिगण्डकी करिडोर, सडक तथा पक्की पुल लगायतका थुप्रै योजना अगाडि बढेको जानकारी दिएका छन् ।
‘पर्वतमा पूर्वाधारको क्षेत्रमा थुप्रै काम भइरहेको छ,’ उनले भने, ‘अब लाख करोडको होइन, हामीले अर्बको योजना अगाडि बढाएका छौै । ‘पोखरा–राम्जा–रिडी सडक वैकल्पिक राजमार्गको रुपमा काम सुरु हुँदैछ । ग्रामिण सडक सुधार आयोजना अन्तर्गत १०० कि मी सडक पर्वतमा निर्माण हुँदैछ ।’
अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा आवश्यक विकास निर्माणको काममा जनताको प्रतिनिधिका रुपमा आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Comments