कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य
Published: (Updated: )
by .कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो।
दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा १ सय५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिम २ सय ७, कालीकोटमा ३ सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। ती जिल्लाका सबै सङ्क्रमित निको भएसँगै सङ्क्रण शून्य देखिएको हो। कर्णाली तीन जिल्लामा मात्र कोरोना सङ्क्रमणका सक्रिय बिरामी छन्।
सुर्खेतमा २७, जुम्लामा तीन र डोल्पामा एक जना गरी ३१ जना सङ्क्रमित रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। तीमध्ये सुर्खेतको प्रदेश अस्पतालमा दुई तथा वीरेन्द्रनगरका २५ जना होम आइसोलेशनमा छन् भने जुम्लाको चन्दनाथ नगरपालिकामा तीन र डोल्पाको ठूली भेरीका एक जना पनि होम आइसोलेशनमा बसेका छन्।
कर्णाली प्रदेशमा ९७ हजार २ सय३९ जनामा पिसिआर परीक्षण गरिएकामा सात हजार ५ सय३४ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना सङ्क्रमणका कारण कर्णालीमा ३१ जनाको मृत्यु भएको छ। त्यस्तै र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा हालसम्म १ सय३६ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस विधिको परीक्षण सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा भइरहेको छ।
नागरिकदैनिक
Comments