‘कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशीको पुरस्कार
Published: (Updated: )
by .झापा । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार २०२० साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई प्रदान गरिने भएको छ ।
सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरु मध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।
राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्स २०६८, शुक्रराज शास्त्रीको चस्मा २०७३, अघोरी २०७५ गरेर पाँचवटा कथा संग्रह प्रकाशित भइसकेका छन् ।
एउटा उपन्यास अनायिका र कविता संग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटोसमेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगतलाई दिइसकेका छन् ।
राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् ।
कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ ।
जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।
कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् ।
अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ । २०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन् । पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ । यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन् ।
बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिकजगत्मा चर्चा पाइरहन्छ । न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन् । यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाले गर्व महसुस गरेको जनाएको छ ।
‘राजेन्द्र पराजुली जस्तो सशक्त कलमजीवीलाई यो पुरस्कार समर्पण गर्न पाउँदा मलाइ अत्यन्त खुसी लागेको छ,’ उत्कृष्ट साहित्यिक कृतिलाई प्रायोजन गर्दै आउनु भएकी अमेरिका निवासी वरिष्ठ साहित्कार अम्बिका गुरुङको भनार्इ छ ।
इञ्जाको मुख्यायल अमेरिकाको भर्जिनियामा रहेको छ ।
Comments