Sajhamanch Archive

राष्ट्रिय महिला लिगको नवौं खेलमा पनि चौदण्डीगढी पराजित

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार नवौं पटक पनि हार व्यहोरेको छ । ७ टिम सम्मिलित लिगमा चौदण्डीगढी अहिलेसम्म जितविहीन छ । बिहीबार चौदण्डीगढी स्याङ्जाको वालिङ नगरपालिकासँग ७-१ ले पराजित भयो ।

वालिङका लागि क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै अर्का क्यामरनी खेलाडी टौटा ओरनेला नोइलीले दुई गोल गरिन् ।

खेलको २५ औं मिनेटमा रुथले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको सात मिनेटपछि चौदण्डीगढीकी अन्जना थुलुङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि भने वालिङले लगातार ६ गोल गर्न सफल भयो ।

रुथले ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि वालिङले पहिलो हाफमै ३-१ को अग्रता कायम गर्यो ।

दोस्रो हाफमा वालिङले चार गोल थप्यो । रुथले ४८ औं र ५५ औं मिनेटमा गोल गरिन् । यस्तै नोइलीले खेलको ७१ औं र ७२ औं मिनेटमा गोल थपिन् ।

लिगमा चौथो जित हात पारेको वालिङ ९ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । वालिङका प्रशिक्षक दिलिप थापाले टिमले ७ गोल गरेपनि धेरै गोलको अवसर गुमाएको बताए ।

नगरपालिकाको टिममध्ये उत्कृष्ट प्रदर्शन गरिरहेको वालिङले विभागीय टोली नेपाल पुलिसलाई समेत पराजित गरेको थियो ।अंकतालिकामा पुलिस भन्दा वालिङ ३ अंकले अघि छ ।

चौदण्डीगढीका लागि अञ्जनाले गरेको गोल जारी लिगमा चौदण्डीगढीले गरेको यो दोस्रो गोल हो । यसअघि पहिलो चरण अन्तर्गत चन्द्रपुर विरुद्ध चौदण्डीगढीका लागि अन्जनाले नै एक गोल गरेकी थिइन् ।

पहिलो चरणमा सबै ६ खेल हारेको चन्द्रपुरले दोस्रो चरणमा पनि ३ खेलमा पराजय व्यहोरिसकेको छ । ऊ अहिलेसम्म अंकविहीन छ ।

चन्द्रपुरले अब विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका र पुलिससंग खेल्न बाँकी छ । चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले अब बाँकी तीन खेलमा अंकका लागि खेल्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *