Sajhamanch Archive

चीनद्वारा बिबिसी टेलिभिजनको प्रसारणमाथि रोक

Published: in विश्व समाचार by .

एजेन्सी। चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ ।

बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।

केही समयअघि चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो ।

ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु भएको उल्लेख गरेको छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा उल्लेख गरिएको छ ।

गत साता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । बीबीसीले चीनले टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो । सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो ।

गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो । आफ्नो निर्णयमा चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले “समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्‍याउन नहुने” सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको “गम्भीर रूपमा उल्लङ्घन” गरेको जनाएको बिबिसीले नै लेखेको छ ।

अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने जनाएको छ । उता बीबीसीले आफ्नो विज्ञप्तिमा भनेको छ, “चिनियाँ अधिकारीहरूले यस्तो निर्णय लिएकोमा हामी निराश भएका छौँ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *