Sajhamanch Archive

भारत कोरोना महामारीको चपेटामा, महाराष्ट्रमा सार्वजनिक भेला गर्न नपाइने

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ ।

महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गरेका हुन् । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उनको भनाइ छ ।

एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै उनले अबको केही दिन राजनीतिक आन्दोलन गर्न पनि नपाइने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको महामारी तीव्र गतिमा फैलिरहेकाले यो निर्णय गरिएको र यो निर्णयले कोरोनाको नयाँ लहर हो की होइन भने अबको ८ देखि १५ दिनभित्र थाहा हुने उनले जानकारी दिएका छन् ।

लकडाउनले कोरोनाको समस्या समाधान हुन नसके पनि भाइरसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भएको उनले बताए । मुख्यमन्त्री ठाकरेले कोरोना नियन्त्रणका लागि अपनाइएको सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र नगरे कारबाहीसमेत हुने बताएका छन् । कोरोना विरुद्धको लडाइँ जित्न मास्क नै उपयुक्त हतियार भएको पनि उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेपछि महाराष्ट्रको अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन गर्न लागिएको छ । लकडाउन मार्च महिनादेखि लागू हुनेछ । लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । सङ्क्रमण बढ्दै गएपछि पूणेमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार महाराष्ट्र, केरला, आन्ध्र प्रदेश, गोवा र चण्डीगढमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *