Sajhamanch Archive

भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

Published: in समाज by .

काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।

स्वर्गीय अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा, अग्रज कम्युनिस्ट ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश(१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउण्डेशनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । अधिकारीले २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए ।

यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटक(पटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *