कोरोना खोपको तालिका झापा र सुनसरीमा यस्तो छ
Published:
by .झापा । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । हिजो साँझको निर्णयअनुसार अब ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका हुन् ।
जनस्वाथ्य कार्यालय झापाले आज बिर्तामोडमा गरेको पत्रकारसँगको अन्तरक्रियामा फागुन २३ देखि २७ गतेसम्म ८ वटा पालिकामा र चैत १ देखि ५ गतेसम्म बाँकी ७ वटा पालिकामा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो पटक जिल्लाभरका ५८ हजार ५१३ जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार पहिलो समुहमा भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, बाह्रदशी, हल्दिबारी र कचनकवलका खोप केन्द्रमार्फत ज्येष्ठ नागरिकहरुलाई खोप दिइनेछ । ती पालिकाहरुमा ३४ हजार ४५६ जना नागरिक ६५ वर्षभन्दा माथि उमेर समुहका रहेको जनस्वाथ्य कार्यलयको तथ्यांक छ ।
यसैगरी दोस्रो समुहका नागरिकहरुलाई चैत १ देखि ५ गतेसम्म खोप दिइनेछ । सो समुहमा झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षी पालिकाका खोप केन्द्रहरुबाट सेवा उपलब्ध हुने जनाइएको छ । जनस्वाथ्य कार्यलयको तथ्यांकअनुसार ती पालिकाहरुमा खोप सेवा पाउने ज्येष्ठ नागरिकहरुको सख्या २४ हजार ५७ जना छ ।
खोप अभियानको औचित्य र आवश्यकताका बारेमा जनस्वाथ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले पत्रकारहरुलाई अवगत गराएका थिए । गत माघ १४ देखि २४ गतेसम्म र फागुन ५ देखि ११ गतेसम्म झापाका ९ हजार १६७ जनालाई कोभिसिल्ड खोप लगाइएको थियो । उनीहरुमा सामान्य बाहेक गम्भिर समस्या नदेखिएको पौडेलले बताए ।
यो चरणका लागि लक्षित खोपग्राहीका लागि आवश्यक ४३ हजार डोज खोप झापामा मौज्दात रहेको र अभियानकै क्रममा आवश्यकता अनुसारकै खोप प्राप्त हुने बताइएको छ ।
यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिकामा १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ ।
वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । फागुन २३ र २४ गते वडा नम्बर २ को कार्यालयमा, वडा नम्बर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नम्बर ४ को सामुदायिक अस्पताल र वडा नम्बर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।
यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । एकम्बा स्वास्थ्य चौकीमा वडा नम्बर १४ देखि १६ का लागि फागुन २३ देखि २७ गतेसम्म वडा नम्बर १७ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते वडा नम्बर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
Comments