प्रदेश १ का प्रमुख अधिकारीले दिए ग्याल्बो ल्होछारको शुभकामना
Published:
by .विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश दिदैँ उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगति र उन्नतिको कामना गरेका छन् ।
आफन्त भेटघाट, साँस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवर्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने उनको भनाइ छ ।
अझै पनि कोरोना भाइरसको जोखिम उत्तिकै रहेको भन्दै अधिकारीले भौतिक तथा सामाजिक दूरी कायम गरेर चाडपर्व मनाउन सबैमा अनुरोध गरेका छन् । बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक भएको उनले उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख अधिकारीले ग्याल्बो ल्होछारले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने विश्वास लिएको बताएका छन् । ग्याल्बो ल्होछार पर्व भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहितको शुभकामना पनि उनले दिएका छन् ।
Comments