Sajhamanch Archive

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि भएको छ ।

गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् । सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टेनरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ ।

सीमा जोडिएको क्षेत्रमा कोरोनाको सङ्क्रमण नरहेकाले भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाइएको चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ । अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । साउनदेखि फागुन मसान्तसम्ममा ७ अर्ब ४८ करोड ५५ लाख २३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमा २ अर्ब ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८.५ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *