Sajhamanch Archive

खोप अभियान नरोक्न डब्लूएचओको आग्रह

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले सबै मुलुकहरुलाई कोभिड विरुद्धको खोप कार्यक्रम स्थागित नगर्न आग्रह गरेको छ । पछिल्लो समय रगत जम्ने सम्बन्धी खबर आएपछि युरोप सहित थुप्रै देशले एस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाइरहेका छन् । यसै सन्दर्भमा डब्लूएचओले यो खोपमा सुरक्षा सम्बन्धी समस्याको कुनै प्रमाण नभएकाले यसको प्रयोग जारी राख्न भनेको छ ।

सावधानीपूर्ण नीति अन्र्तगत यसअघि जर्मनी, फ्रान्स, इटली र स्पेन पनि अक्सफोर्ड–एस्ट्राजेनेका खोप रद्द गराउने मुलुकहरुको सूचीमा थपिएका हुन् । यसबारे छलफल गर्न मंगलबार फेरि बैठक बसिने बताइएको छ । युरोपियन मेडिसिन्स एजेन्सी ९इएमए०ले बिहिबारसम्म यस सम्बन्धी अन्तिम निष्कर्ष निकाल्ने जनाएको छ र अहिलेका लागि चाहिँ खोपको प्रयोग जारी राख्न भनेको छ ।

गत हप्ता युरोपमा यो खोप लगाइसकेपछि रगत जम्ने समस्या भएको थुप्रै रिपोर्ट गरिएको थियो । तर विज्ञहरुका अनुसार सामान्य अवस्थामा, अरुबेला रगत जम्ने समस्याबारे जति खबर आइरहन्थ्यो अहिलेको सङ्ख्या पनि त्यो भन्दा बढी छैन । यसकारण यो खोपकै कारण भएको हो भन्न नसकिने र यसको कुनै प्रमाण पनि नभएको बताइएको छ ।

युरोपेली संघ र बेलायतमा मात्र १ करोड ७० लाख बढीले एस्ट्राजेनेका खोपको कम्तीमा एउटा डोज प्राप्त गरिसकेका छन् ।

यसमा गत हप्ता ४० जनामा रगत जम्ने समस्या देखा परेको कम्पनीले बताएको छ ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले देशको खोप निकाय, पल अर्ललिक इन्सटिच्युट पीइआइको सुझावमा सोमबार तत्कालै एस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाउने घोषणा गरेको हो । स्वास्थ्य मन्त्री जेन्स स्पानले भनेका छन्, “ ‘सेरिब्रल भेन थ्रोम्बोसिस’ को समस्या एस्ट्राजेनेका खोपसँग सम्बन्धित भएकाबारे आइरहेका नयाँ रिपोर्टकै आधारमा यो निर्णय लिइएको हो । ”

उनले यो निर्णय राजनीतिक नभएको पनि स्पष्ट पारेका हुन् । उनले थप भने, “हामीलाई यो निर्णयको परिणाम राम्ररी थाहा छ र यसलाई हामी सहज रुपमा लिनेछैनौँ ।”

यसको केही समयपछि नै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनि नयाँ सुझाव नआएसम्म एस्ट्राजेनेका खोपको प्रयोग स्थगित गराउने बताए । उनले भने, “हामीसँग यस सम्बन्धी साधारण गाइड छ र हामी विज्ञान अनि सक्षम स्वास्थ्य निकायहरुबाट जानकारी पाइरहेका छौँ र युरोपेली नीतिको हिस्साका रुपमा हामीले यो सावधानी अपनाउन लागेका हौँ । ”

इटलीको मेडिसिन्स एजेन्सीले पनि खोपका व्यक्तिगत ब्याचको प्रयोग बन्द गर्ने सम्बन्धी थप दुई हप्ता प्रतिबन्ध लम्ब्याउने बताएको हो । यसअघि आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्यान्ड, स्लोभेनिया, थाइल्यान्डले पनि एस्ट्राजेनेका खोपको प्रयोग रद्द गराएका थिए । रिपब्लिक अफ कंगो र इन्डोनेशियाले चाहिँ यसको वितरण अहिलेका लागि स्थागित गरिसकेका छन् ।

उता बेल्जियम, पोल्यान्ड, चेक रिपब्लिक र युक्रेनले भने अक्सफोर्ड–एस्ट्राजेनेका खोपकै प्रयोगलाई निरन्तरता दिने बताएका छन् । क्यानडाका राष्ट्रपति जस्टिन ट्रड्युले पनि यसअघि एस्ट्राजेनेका सहित देशमा प्रयोग भइरहेका सबै खोप पूर्ण रुपमा सुरक्षित भएको स्वास्थ्यविद्हरुले सुनिश्चित गराइसकेको बताएका हुन् । बेलायतको आधिकारिक औषध निरीक्षकले यो खोपले रगत जम्ने समस्या उत्पन्न गराउँछ भन्ने कुनै प्रमाण नभएकामा जोड दिँदे आएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *