ओली पक्षले स्पष्टीकरण सोध्ने निर्णय अवैध ; भीम रावल
Published: (Updated: )
by .काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नु अवैध भएको जनाएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले उक्त निर्णय ओलीको ‘निरंकुश, स्वेच्छाचारी प्रवृत्तिको द्योतक’ भएको उल्लेख गर्दै निर्णयलाई अस्वीकार गरेका छन् । “प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौँ राष्ट्रिय महाधवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु,” उनले भनेका छन् ।
नेकपा एमालेको विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप गरेको भन्दै उनले यसबारेमा ओलीले स्पष्टीकरण दिनुपर्ने जिकिर गरेका छन् ।
ओली पक्षको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हितविरुद्ध काम गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बाह्रखरी
Comments