Sajhamanch Archive

गरामनीमा रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना

Published: in मुख्य समाचार, विविधा, समाज by .

बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनीका एक प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा अक्षयकोष राखी सामाजिक सेवा कार्यको थालनी गरेका छन् ।

अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् ।

प्रतिष्ठान स्थापनाको घोषणा कार्यक्रममाझ आज पहिलो दिनमा नै सासू ससुरालाई खुब माया र सम्मान गर्ने तर श्रीमानबाट प्रताडित एक महिलालाई उत्कृष्ट बुहारीकारूपमा सम्मान गरिएको छ । बिर्तामोड ७ खालबाडीकी संगीता खबासलाई नगद ४ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्र अर्पण गरिएको हो ।

सो अवसरमा परिवारका ज्येष्ठ दुईजना महिला सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिष्ठान स्थापनाको उद्देश्य प्रकाश पार्दै अर्का छोरा डिल्लीराम प्रसाईंले प्रतिष्ठानको कार्यक्षेत्र झापा जिल्लाभर रहने जानकारी दिए । भाइ बुहारीले अमेरिकाबाट पठाइदिएको ५ लाख रुपैयाँको अक्षय कोषमा परिवारका सबैको सहभागिता जनाउने उनको भनाई थियो । बैंकमा राखिएको उक्त रकमको ब्याजबाट वार्षिक रूपमा अपांग, असहाय, जेहेन्दार, गरिव, विपन्न तथा लक्षित वर्गका मानिसलाई पहिचान गरी सम्मान तथा पुरस्कार एवम् राहत प्रदान गरिने प्रसाईंले बताए ।

रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गरी ९ जनाको समिति बनाइएको, अक्षय कोषमा राखेको रकमबाट आउने ब्याज समितिले पहिचान गरेको समाजका विभिन्न क्षेत्रको उत्थानमा लगाउने उनको भनाई छ ।

रूपनारायण–पवित्रा प्रसाईंका ज्वाईं तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रम व्यवसायी कूलप्रसाद खरेलले ब्यानर वाचनमार्फत् गरिएको हो । सो कार्यक्रममा खरेल, संग्रौला, प्रसाईंसहित पत्रकार गोपाल काफ्ले, शिक्षक लक्ष्मण शिवाकोटी, सामाजिक व्यक्तित्वहरु पूर्णप्रसाद ओडारी, टंक आचार्य लगायतले आफ्ना धारणा राखेका थिए ।

शिक्षक लक्ष्मण शिवाकोटीले धन नहुनेको मन हुन्छ तर मन हुनेको धन नहुन सक्छ भन्दै आफ्ना पूर्वजको नाम चीरस्थायी बनाउन प्रसाई परिवारले शुरु गरेको काम सराहनीय भएको बताए ।

यस्तै अर्का वक्ता टंक आचार्यले कर्मशील आमा बुवाको नाममा प्रतिष्ठान स्थापना गरिनु उहाँहरूप्रति सच्चा सम्मान र श्रद्धाञ्जली भएको जिकिर गरे। पहिलो कार्यक्रममा नै उत्कृष्ट बुहारी पहिचान गरी सम्मान गरिनु अनुकरणीय थालनी भएको भनाई राखे ।

कार्यक्रमका अध्यक्ष कमल संग्रौलाले प्रतिष्ठानलाई मजवुत बनाउन ८ दाजुभाइ सबैले सहयोग गर्ने, नाता सम्बन्ध भित्रबाट कोषमा रकम थप गर्दै जाने र अग्रणी प्रतिष्ठान बनाउने योजना रहेको सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *