Sajhamanch Archive

भारतबाट स्वदेश फर्कनेको ट्राभल हिस्ट्री खोजिँदै, ज्वरो देखिए क्वारेन्टिन

Published: in विश्व समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो ।

नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा र स्वास्थ्य सतर्कता बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रदेश नम्बर–२ का सीमानाकाबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ हेर्नेदेखि ज्वरो जाँच र पीसीआर रिपोर्टको समेत जाँच गर्न थालिएको छ । प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, “ज्वरो आएको पाइए क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । स्वदेश आउनेहरुको सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ । नाकामा स्वास्थ्यकर्मीको टोली पनि खटाउने तयारीको सूचना पाएका छौँ ।”

मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट प्रवेश गर्न सक्ने सम्भावित स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको डीआईजी सिंहले बताए ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत भारतबाट स्वदेश फर्कनेको निगरानी राख्न सुरु गरिएको छ । पछिल्लो समय नयाँवर्ष मनाउन स्वदेश फर्कनेको चाप बढेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर राख्ने तयारी भइरहेको समेत उनले बताए ।

उनले भने, “प्रमुख सीमानाकामा हेल्थ डेस्क छ । सबैको विवरण संकलनपछि ज्वरो जाँच हुन्छ । शंका लागेकालाई अस्पताल लगिन्छ । पहिले बनाएका आइसोलेसनलाई क्वारेन्टिन बनाएका छौँ । साना नाकाको निगरानी पनि बढाएका छौँ ।”

यस्तै, गए रातिबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतमा कोरोना संक्रमणको दर बढेको र त्यसको प्रभाव नेपालमा पर्न सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो । प्रशासनद्वारा जारी सूचनामा होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड वा जुलुस गर्न नपाइने, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।

गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला राखिएको छ । अत्यावश्यकबाहेकका व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न आदेश जारी गरिएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *