Sajhamanch Archive

साँझ ९ बजेसम्ममात्र व्यवसाय सञ्चालन गर्न मेचीनगर नगरपालिकाको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

मेचीनगर । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुनः तीब्ररुपमा फैलिएका कारण भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले नेपालतर्फ पुनः यसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरेको छ ।

मेचीनगर नगरपालिकाको कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले आसन्न फागु पूर्णिमा (होलीपर्व)मा भिडभाड नगरी घर आसपास पर्व मनाउन, आग्रह गरेको छ ।

नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार साविक सञ्चालनमा आएका क्वरेन्टाइन, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेजस्ता निर्णयहरु बैठकले गरेको छ ।

समितिका संयोजक नगरप्रमुख बिमल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड १९ संक्रमणका लागि सरकारी, गैरसरकारी, अर्धसरकारी र सामूदायिक संघ संस्था र राजनीतिक पार्टीहरुबीचमा विगतमा भएका सहकार्यलाई उन्नत र व्यवस्थित बनाउने सहमति भएको छ । यसैगरी, साँझ ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन नगर्न बैठकले निर्देशन गरेको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारबाहीका लागि सिफारिस गर्ने, सीमानाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमानाका वारिपारी गर्न निरुत्साहित गर्ने लगायतका निर्णय गरेको प्रेस संयोजक उप्रेतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *