इलाम बजार र फिक्कलमा सिम्रिक साकोसको सेवा विस्तार
Published:
by .इलाम । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शुक्रबारदेखि सेवा केन्द्र बिस्तार गरेको छ ।
२०६७ सालमा स्थापना भएको सिम्रिक साकोसको २४औं सेवा केन्द्र इलाम नगरपालिका ७ इलाम बजारमा र २५औं सेवा केन्द्र सूर्योदय नगरपालिका १० फिक्कलमा सेवा विस्तार गरेको हो । यसअघि संस्थाले इलामको दानाबारीमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाह गरिरहेको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यमा इलाम बजार सेवा केन्द्र उद्घाटन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने, उद्योग वाणिज्य संघ इलामका कार्यकारी निर्देशक नविन लामिछाने, होटल एशोसिएसन इलामका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष देवी पौडेललगायतले सिम्रिक साकोसले इलाममा सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा सानिमा बैंक इलाम शाखा प्रमुख समिना बस्नेत, एक्सेल डेभलपमेन्ट बैंक इलाम शाखा प्रमुख अरिक ढकाल, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, पत्रकार सुवर्ण खड्का, जागृति साकोसका टीका ढकाल लगायतले इलाममा शाखा स्थापना गरेकोमा सिम्रिक साकोसलाई धन्यवादसहित सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै सिम्रिक साकोसले सूर्योदय नगरपालिका १० फिक्कलमा २५औं सेवा केन्द्र सञ्चालन गरेको छ । सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले फिक्कल सेवा केन्द्रको उद्घाटन गरिदिएका थिए ।
कार्यक्रममा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इकाराम प्रधानले फिक्कलमा सिम्रिक साकोसले सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा सूर्योदय नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिम्सिना लगायतले फिक्कलमा शाखा स्थापना गरेकोमा सिम्रिक साकोसलाई शुभकामना दिएका थिए ।
सेवा केन्द्र उद्घाटनका दुईवटै कार्यक्रममा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको कार्यक्रमहरु माथि प्रकाश पारेका थिए । सिम्रिक साकोसको कार्यक्षेत्र झापा, मोरङ र इलाम जिल्लामा रहेको तथा संस्थामा ३३ हजार ६०४ जना शेयर सदस्य रहेको बस्नेतले जानकारी गराए ।
कार्यकारी प्रमुख बस्नेतले संस्थाको चुक्ता शेयर पूँजी २० करोड ६७ लाख ४८ हजार ५७० रुपैयाँ, निक्षेप ७२ करोड ५९ लाख २२ हजार ५७४ रुपैयाँ, ऋण लगानी एक अर्ब २९ करोड २६ लाख ४४ हजार ८८० रुपैयाँ रहेको सहभागीहरुलाई जानकारी गराए ।
सिम्रिक साकोसका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेको दुईवटै शाखा उद्घाटन कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख प्रेम वस्नेतले गरेका थिए ।
Comments