प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय
Published:
by .काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने दुई धार देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएको झण्डै साढे १ महिनापछि नेपाली कांग्रेसले सरकार गठनबारे निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेपालको राजनीतिक घटनाक्रम फरक बाटोमा मोडिएको थियो ।
गएको फागुन ११ गते सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिए पनि राजनीतिक दलहरुले नयाँ सरकार गठन गर्न भने सकिरहेका छैनन् । कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको बाटो खोलेको छ ।
सर्वोच्च अदालतले नेकपाको एकता भङ्ग गरेपछि प्रचण्डले दुई पटक देउवालाई सत्ता–गठबन्धनको प्रस्ताव गरेको भए पनि अहिलेसम्म कांग्रेसले ठोस निर्णय गर्न सकिरहेको थिएन । माओवादी केन्द्रले संसद् पुनःस्थापना भएलगत्तै ओलीको विकल्पमा कांग्रेस नेतृत्वको सरकार प्रस्ताव गर्दै आएको थियो ।
कांग्रेसको पछिल्लो निर्णयले संसद्को चौथो शक्ति जसपालाई पनि ओलीकै निरन्तरता वा नयाँ गठबन्धन भन्नेबारे ठोस निर्णय लिनुपर्ने दबाब बढेको छ । यसअघि कांग्रेस, माओवादी र जसपाका नेताहरुबीच सरकार गठनबारे विभिन्न चरणमा छलफल भए पनि छलफलले सार्थकता पाउन सकिरहेको थिएन ।
Comments