Sajhamanch Archive

राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिको सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

शनिबार दिउँसो ललितपुरको डल्लुमा रहेको खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेकोले इतिहास संशोधन मण्डलका अध्याता एवं प्रवर्द्धकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आएको खनालले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको पनि पूर्वप्रधानमन्त्री खनालले बताए । उनले भने ‘हामीले एकछिन भलाकुसारी गर्‍यौँ । विगतका कुराहरु पनि हामीले गर्‍यौँ । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी भयो । उनले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गरे ।’

भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको कुरा खनालले बताए । तर आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको बताए ।

उनले भने, राष्ट्रपतिले पनि लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्ने र सबै पार्टीहरु बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने आफ्नो चाहना रहेको र अहिले पनि सकेसम्म पार्टीभित्र सबैलाई मिलेर जानुहोस् भन्ने सुझाव दिएकी छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *