एनएमसी चिया व्यवसायबाट उत्पादन सुरु, सहकारी दिवसमा धेरै रचनात्मक कार्यको थालनी
Published:
by .झापा । नेपालको अग्रणीमध्येको एक सहकारी संस्था एनएमसी झापाले ६४औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा केही रचनात्मक प्रयासहरुको थालनी गरेको छ ।
एनएमसीद्वारा थालिएका अभियानहरुबारे फेसबुकमा स्टाटस लेख्तै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी अर्थोडक्स र ग्रीन टीको परीक्षण उत्पादनको शुरुवात गरिएको उल्लेख गरेका छन् । झापामा सहकारीमार्फत ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन सुरू गर्ने एनएमसी पहिलो संस्था भएको जनाइएको छ ।
यसैगरी, २० चैतको दिनदेखि मेचीनगर १४ दुवागढीमा रहेको एनएमसी नमूना कृषि फर्ममा किसानबाट दूध संकलनको शुरुवात गरिएको छ । हालैमात्र त्यहाँ संस्थाले आफ्नै चिलिङ भ्याट स्थापना गरेको थियो ।
सहकारी दिवसका दिन संस्थाले विगतभन्दा फरक सोचका साथ एनएमसीका क्षेत्रीय र व्यवसायिक कर्मचारी टिमका बीचमा एक दिने सुपर सिक्स क्रिकेटको प्रतिस्पर्धात्मक खेल सम्पन्न गरेको छ । विगत वर्षहरुमा अन्तर सहकारी क्रिकेट प्रतियोगिता हुने गरेकोमा अहिले आफैंभित्र टिम पुग्ने गरी विभिन्न तह सिर्जना भएको पाइएको छ ।
यसैगरी, एनएमसीले हाल जिल्लाका ९ स्थानमा सञ्चालन गरेको सहकारी पसलबाट अब संस्थाका शेयर सदस्यलाई सदस्य परिचय पत्रका आधारमा विशेष छुटको व्यवस्था गरिएको छ । संस्थाको स्थापना दिवसबाट छुटका विभिन्न प्याकेज ल्याउन थालेको एनएमसीले अब सबै समयमा उपभोक्ता आकर्षणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाएको बताइएको छ ।
यसैबीच, एनएमसीका सम्पूर्ण अगुवा कर्मचारीलाई संस्थाले प्रयोगमा ल्याएको प्रविधिका बारेमा सदस्यलाई बढीभन्दा बढी जानकारी गराएर सुविधा उपयोग गर्न प्रेरित गर्ने उद्देश्यले चैत १९ गते दिनभर छलफल तथा सहजीकरण गरिएको थियो ।
समाचार स्रोतका अनुसार एनएमसीको स्वामित्वमा रहेको चिया उद्योग चैत १९ गते बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । संस्थाले पाँचौं व्यवसायको रूपमा अर्थोडक्स र ग्रीन टीको उत्पादन सुरु गरेको छ । मेचीनगर–५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो ।
तात्कालिन सुरेन्द्रनगर सहकारी संस्थाले १ करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण सुरु गरेको थियो । उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभागबाट ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो । दुई सहकारी संस्थाहरूबीच एकता भएसँगै सहकारीले थप एक करोड रकम विनियोजन गरी निर्माणको काम सम्पन्न गरेर प्रशोधनको काम सुरु गरेको हो ।
‘हामी गुणस्तरीय चिया उत्पादनमा लाग्ने छौं’ एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले भने, ‘एनएमसीको आफ्नै ब्राण्ड छ, तयारी चिया बिक्रीको लागि बजारको समस्या हुनेछैन ।’
स्थापनाको सुरुमा बैङ्किङ व्यवसाय सञ्चालन गर्दै आएको एनएमसीले २०७२ सालबाट बहुव्यवसायको रूपमा फड्को मार्दै आएको हो । अहिले संस्थाले बैंकिङ, डेरी उद्योग, एकीकृत नमूना कृषि फर्म र सहकारी पसल सञ्चालन गरिरहेको छ । अब चिया व्यवसाय सुरु गरेको हो ।
Comments