Sajhamanch Archive

न्यायाधीशद्वय चुडाल र सुवेदीको संसदीय सुनुवाइ वैशाख ३ गते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ आउँदो वैशाख ३ गते हुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आइतवारको बैठकले उनीहरूविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको छ । प्रस्तावित न्यायाधीश चुडालविरुद्ध दुई र सुवेदीविरुद्ध पाँच उजुरी परेका थिए । चुडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भइ आ–आफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यता लगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए।

समितिको बैठकमा उपस्थित भएका उजुरीकर्ताहरूले सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीश नहकुल सुवेदीको योग्यता नै नपुग्ने देखिएपछि उजुरी गरेको बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुन उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश भएर पाँच वर्ष काम गरेको हुनुपर्छ भन्ने संविधानको धारा १२९ को ५ मा व्याख्या भएको र त्यो व्यवस्थाअनुसार सुवेदीको मुख्य न्यायाधीशको रूपमा न्याय परिषद्ले सिफारिस गरेको दिनसम्म तीन वर्ष दुई महिना तीन दिन मात्रै पुग्ने भएकाले योग्यता नपुग्ने देखिएकाले त्यस्तो सिफारिसलाई संसदीय समितिले अनुमोदन गर्न हुँदैन भनी उजुरी गरेको उजुरीकर्ताहरूले बताएका छन् ।

न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति दिँदा नराम्रो सन्देश गएको र यसबाट न्यायपालिकाले न्याय सम्पादन गर्न नसक्ने उजुरीकर्ताहरूले बताएका छन् । संविधानको व्याख्या गर्ने ठाउँमा पुग्ने व्यक्ति आफै असंवैधानिक ढङ्गले नियुक्ति हुन्छ भने न्याय र संविधानको रक्षा हुन नसक्ने पनि उजुरीकर्ताहरूले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *