Sajhamanch Archive

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

विराटनगर । प्रदेश नम्बर एक सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता भएको छ । प्रदेश सभाको सातौँ एवम् हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१ )बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

अविश्वासको प्रस्तावको समर्थक एवम् नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए । अविश्वासको प्रस्तावको समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

प्रस्ताव र समर्थक दुवै जनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेको प्रति सरकारको आलोचना गरे ।

सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययिता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए ।

सङ्घीय समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर रहेकोले सङ्घीय राजनीतिको आधारमा प्रदेश संसद्लाई बन्धक बनाउन नहुने तर्क गरे । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले सरकार जनताप्रति उतरदायी नरहेको भन्दै सरकारमा सहमतीय प्रणाली लागू हुनुपर्ने धारणा राखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *