Sajhamanch Archive

भारतले उदयपुरको विद्यालय निर्माणमा चार करोड २९ लाख दिने

Published: in मिडियाबाट साभार, शिक्षा, समाज, by .

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले चार करोड २९ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

यसका लागि भारतीय दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सम्झौता भएको भारतीय दूतावासद्वारा प्रेस विज्ञप्तिमा जनाएको छ ।

दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । परियोजना नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत रहेको छ ।

भारत सरकारले सन् २००३ यता साबिकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश नम्बर–१ मा मात्रै ६५ वटा यस्ता परियोजना रहेका छन् ।

५.८ अर्ब अनुदानमा भारतले ०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *