Sajhamanch Archive

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको अन्तिम चारमा

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

कास्की । पोखरामा भइरहेको १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगको भेट पक्का गरेको हो ।

सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलको २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक–शून्यले पछि परेको थ्री स्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।

खेलको ६८ औँ मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डीबक्सतर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि ब्याक पास उपलब्ध गरे । तामाङले क्रस बार च्याप्दै गोल गरेपछि पुलिस अग्रता दोब्बर भयो ।

खेलको ७४ औँ मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङले नेपाल पुलिसका लागि तेस्रो गोल गर्दा टोली फराकिलो नजितातर्फ अगाडि बढ्यो । ८६ औँ मिनेटमा सुमन लामाको पासमा सौजन राईले क्लिन फिनिशिङ गर्दै नेपाल पुलिसलाई चार–शून्यको अग्रतासँगै जित सुनिश्चित बनाए ।

म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधवार पहिलो सेमिफाइनल खेल सङ्कटा र एपीएफबीच हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *