श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित
Published:
by .काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको थियो । आर्मीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
खेलको २८ औँ मिनेटमा इभान इसान्टेले गोल गर्दै श्रीलंकन पुलिसलाई अग्रता दिलाए । खेलको ४१ औँ मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै २-१ गोलको अग्रता दिलाए ।
खेलको ४९ औँ मिनेटमा आर्मीका टंकबहादुर बस्नेतले नवयुगको पासमा गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाए ।
खेलको ६८ औँ मिनेटमा आर्मीका सुदिल राइले दिएको पास नवयुगको खराब ट्च लाग्दा गोलमा परिणत हुन सकेन ।
८४ औँ मिनेटमा सुनिल राइले गोल गर्दै आर्मीलाई ४-१ गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दा आर्मीलाई ५(१ गोलको जित दिलाए ।
यसअघि खेलको १० औं मिनेटमा सन्तोष तामाङले डी एरिया बाहिरबाट हानेको पास श्रीलंकन पुलिसका गोल रक्षक डेनिस महेन्द्रनले सहजै रोकेर आउट फालिदिएका थिए ।
खेलको १२ औं मिनेटमा कर्नरबाट आएको बल भरत खवासले हेड गर्दा गोल भने हुन सकेन् । खेलको ३४ औँ मिनेटमा आर्मीका भरत खवासले डि बक्स भित्रको बल आउट फालेका थिए ।
पहिलो खेलमा श्रीलंकन पुलिसलाई हराएको आर्मीले अब आफ्नो दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले यही अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
सो खेलको विजेताले समूह चरणको समूह ‘डी’मा स्थान बनाउनेछ ।
Comments