Sajhamanch Archive

पुरुषसरह काम गर्न सक्ने बनाउन अलैंची व्यवसायी महिलालाई बिर्तामोडमा क्षमता अभिबृद्धि तालिम

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज by .

बिर्तामोड । अलैंची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरुका लागि झापामा तीन दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघ अन्तर्गतको ठूलो अलैंची प्रवद्र्धनका लागि महिला सञ्जालको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो ।

आज एक समारोहका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले तालिमको उद्घाटन गरेकी हुन् । सो अवसरमा नगर उपप्रमुख प्रसाईंले आयमुलक व्यवसाय तथा खेतीमा महिलाको संलग्नता प्रेरणादायक रहेको बताइन् । उनले सबै क्षेत्रका महिलाहरुको क्षमता अभिबृद्धि आजको आवश्यकता रहेको पनि जिकिर गरिन् । तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उपयोग गर्न उनको आग्रह थियो ।

तालिमको सहजीकरण संगीता थापाले गर्दैछन् । तालिममा मारवाडी समुदायका महिलाको उल्लेख्य सहभागिता रहेको छ । सो अवसरमा सञ्जालका अध्यक्ष सुष्मा भण्डारी पौडेलले सञ्जालको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । अलैंची व्यवसाय तथा खेतीमा संलग्न महिलाले पनि पुरुषसरह काम गर्न सकुन्, सार्वजनिक स्थानमा डर संकोचबाट माथि उठ्न सकुन् भन्ने उद्देश्यले क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको उनको भनाई थियो ।

तयारी अलैंचीको ग्रेडिङ, कटिङजस्ता काममा मजदूरको रुपमा काम गरिरहेका महिलाहरुका लागि पनि क्षमता तथा सीप विकासको तालिम सञ्चालन गरिने अध्यक्ष पौडेलले बताएकी छन् । तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ ।

सञ्जालका सचिव संगीता चिमरियाले सञ्चालन र कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेको उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उद्यमी महिला महासंघ झापाकी अध्यक्ष गोमा भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, महासचिव सुवास भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

तालिममा झापालगायत पूर्वी पहाडी जिल्लाका ३० जना महिला अलैंची व्यवसायी तथा किसानको सहभागिता रहेको महासंघका कार्यलय प्रमुख अनिल ढुंगानाले जानकारी दिए । यसअघि महासंघले अलैंचीमा आबद्ध महिलाहरुका लागि इलामको मंगलबारेमा अलैंचीको बोटबाट हस्तकलाका सामग्री निर्माण सम्बन्धी ९ दिने प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *