Sajhamanch Archive

जसपा नेताहरुबीच देउवा निवासमा भेटवार्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक सातापछि आज दिउँसो देउवा निवासमा सत्ता समीकरणबारे छलफल हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र जनता समाजवादी जसपाका नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन् ।

आजको वार्तामा काँग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरुको टीम सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवामाथि लाग्दै आएको आरोप के हो भने उनी प्रतिनिधिसभाको निरन्तरता भन्दा पनि चुनाव चाहन्छन् । गत पुस ५ मा केपी ओलीले संसद विघटन गरेका बेलामा पनि देउवाले चुनावमा जाने चाहना राखेका थिए । अहिले संसदको पुनस्थापनापछि पनि केपी ओली फेरि संसद विघटन गरेर चुनावमै जान खोजिरहेका छन् र देउवा पनि चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुने विश्लेषण गरिरहेका छन् ।
संसद विघटनपछि कांग्रेसभित्रको शक्ति सन्तुलनका कारण देउवाको इच्छा पूरा हुने पाएन, कांग्रेस संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा ओर्लियो । अहिले संसद ब्युँतिएपछि पनि देउवाले सोचेजस्तो हुन सकेको छैन ।

गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितको बैठकमा देउवा आफैंले प्रस्ताव राखेर निर्णय गराएका छन्, केपी ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकारको पहलकदमी गर्ने । काँग्रेसको त्यसअघिकै बैठकले देउवालाई प्रधानमन्त्री बनाउने सहमति जुटाइसकेको छ ।

यसरी आफैंले पार्टीबाट निर्णय गराएको प्रस्ताव कार्यान्वयनका क्रममा देउवाले शुक्रबार दिउँसो बूढानीलकण्ठमा माओवादी र जसपाका नेताहरुलाई सत्ता समीकरणबारे छलफल गर्न बोलाएका हुन् ।

भ्यागुताको धार्नी

काँग्रेस सभापति देउवालाई संसदमा बुहमत पु¥याएर प्रधानमन्त्री बन्नका लागि माओवादी र जसपा दुबै दलको समर्थन चाहिन्छ । ३४ सीटवाला जसपा फुट्यो भने पनि कांग्रेसको बहुमत पुग्दैन, सिंँगै जसपाले साथ दिँदा मात्रै देउवाले बहुमत जुटाउन सक्छन् ।

प्रधानमन्त्री बन्नका लागि देउवालाई माओवादीका तर्फबाट कुनै समस्या देखिँदैन । माओवादीले उनलाई समर्थन गर्न सक्छ । तर, जसपाका नेताहरुले भने केही शर्तहरु तेस्र्याएका छन् । साथै, जसपाभित्र केपी ओलीलाई समर्थन गर्नुपर्छ भन्ने लाइनसमेत रहेकाले उनीहरुमा फुट आउन सक्ने डर पनि छ ।

जसपाभित्रको जटिल अवस्थामा देउवाले उनीहरुलाई फकाएर आफ्नो पक्षमा बहुमत जुटाउनका लागि केही सम्झौताहरु गर्नुपर्ने हुन्छ । जस्तो– रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका मुद्दाहरु जसपाका शर्त हुन् । ती शर्तहरु पूरा गर्ने विश्वास नदिलाएसम्म देउवालाई जसपाले एकीकृत रुपमा समर्थन गर्ने सम्भावना कमै देखिन्छ ।

यसका अतिरिक्त सत्ताको भागवण्डामा पनि देउवाले जसपालाई चित्त बुझाउनुपर्ने हुन्छ । यसका लागि या त देउवाले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री दिएर संयुक्त सरकार बनाउन तयार हुनुपर्छ, या जसपाले मागेजति मन्त्रालय दिन तयार हुनुपर्छ ।

सत्ता साझेदारीका यी विषयहरुमा कुरा मिल्यो र मुद्दाहरुको सम्वोधन हुने भयो भने जसपाले देउवालाई साथ दिन सक्छ । अन्यथा जसपालाई मिलाउनु भनेको देउवाका लागि भ्यागुताको धार्नी पुर्‍याउनु​जस्तै हुने देखिन्छ ।

जसपाले नमाने ओली जिन्दावाद

कांग्रेसका केही नेताहरुका अनुसार शेरबहादुर देउवा गणितले साथ दिएन भने जोखिम मोलेर प्रधानमन्त्री बन्न लालायित छैनन् । जसपाले मानेन भने बरु केपी ओलीकै नेतृत्वमा भए पनि चुनावमा जाँदा फाइदा हुने देउवाको विश्लेषण रहेको कांग्रेस नेताहरु बताउँछन् ।

यद्यपि, आफ्नै नेतृत्वमा सरकार बन्यो भने चुनावमा सहज हुने देउवाको आँकलन रहेको सो पार्टीका नेताहरु बताउँछन् । तर, सरकार बनेन भने ओलीकै नेतृत्वमा भए पनि चाँडै चुनावमा जाने देउवाको चाहना रहेको सो पार्टीका नेताहरुले बताउँदै आएका छन् ।

काँग्रेसका एक नेताले नाम उल्लेख नगरी रातोपाटीसँग भने,‘ सभापति देउवा चाँडो चुनाव होस् भन्ने चाहनुहुन्छ । चुनाव हुँदा कांग्रेसलाई फाइदा हुन्छ भन्ने उहाँको सुरुदेखिकै विश्लेषण छ । त्यसैले, जसपाले गठबन्धनमा आउन मानेन भने पनि देउवाले फकाउन जोड गर्ने सम्भावना छैन ।’

काँग्रेस स्रोत भन्छ, ‘सभापति जी उस्तै परे ओलीकै नेतृत्वमा भए पनि चुनावमा जान तयार हुनुहुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *