Sajhamanch Archive

कमलको मंगलमय माविमा अपाङ्ग विद्यार्थीहरुले देखाए आफ्नो क्षमता

Published: in शिक्षा, समाज, स्थानीय तह by .

झापा । अपाङ्गता भएका विद्यार्थीहरुको झापा जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप तथा स्रोत शिक्षकहरुको सम्मान कार्यक्रम चैत २७ गते सम्पन्न गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई झापा अन्तरगत लेखाजोखा केन्द्रको आयोजनामा कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माविमा कार्यक्रम सम्पन्न गरिएको हो ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ को वार्षिक कार्यक्रम अनुसार लेखाजोखा केन्द्रले अतिरिक्त क्रियाकलाप प्रतियोगिता आयोजना गरेको संयोजक लुना सिवाकोटीले जानकारी दिएकी छन् ।

झापाका आठवटा विद्यालयहरुमा सञ्चालित समाहित कक्षामा अध्ययनरत १९५ जना विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । दृष्टिविहीन, बहिरा र वौद्धिक अपाङ्गता भएका ती विद्यार्थीहरुले २१ वटा इभेन्ट्समा प्रतिष्पर्धा गरेको संयोजक सिवाकोटीले बताइन् । प्रतिष्पर्धामा अब्बल ठहरिएका विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको औचित्यका बारेमा केन्द्रका संयोजक सिवाकोटीले प्रकाश पारेकी थिइन् । सो अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्ने ५ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा दुर्गा मावि गरामनीका स्रोत शिक्षक खिलप्रसाद सिवाकोटी, ताराबारी आधारभूत विद्यालय दमकका स्रोत शिक्षक बासुदेव बराल र कनकाई मावि सुरुङ्गाका स्रोत शिक्षक वेदप्रसाद खतिवडा छन् । यस्तै, मैगलमय मावि कमलका शिक्षक ओमप्रकाश खनाल र केयरटेकर टिकादेवी आचार्य पनि सम्मानित भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *