Sajhamanch Archive

विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको अर्थमन्त्रीको गुनासो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको बताएका छन् । विश्व बैंकको नेपाल विकास अपडेट सार्वजनिक गर्दै उनले सरकारले गरेको प्रक्षेपणभन्दा कम विश्व बैंकले प्रक्षेपण गरेको बताए ।

नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु भएको भन्दै उनले बैंकको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको बताए । तर, बैंकले गरेको आर्थिक बृद्धिको प्रक्षेपण भने थोरै रहेको उनको भनाइ छ । “हामीले गरेको प्रक्षेपणभन्दा विश्व बैंकले गरेको आर्थिक बृद्धिको प्रक्षेपण कम छ,” उनले भने ।

उनले मन्त्रालय आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेको भन्दै प्रतिवेदनमा समावेश गरिएको सुझावलाई ध्यान दिइने बताए । मन्त्री पौडेलले आगामी बजेट कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्न केन्द्रित हुने बताए । पछिल्लो राजनीतिक गतिविधिका कारण अर्थतन्त्र प्रभावित हुन सक्ने विश्व बैंकको आशंका प्रति मन्त्री पौडेलले त्यस्तो शंका नगर्न आग्रह गरे ।

उनले आर्थिक पुनःउत्थानका लागि विश्व बैंकसहित अन्य विकास साझेदारसँग नजिक रहेर काम गर्न सरकार तयार रहेको पनि बताए ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जारर्भोजले नेपालको हरित, भरपर्दो र समावेशी विकासलाई समर्थन गर्न सरकारले योजनाबद्ध सुधारहरुलाई स्वागत गर्ने बताए । “हामी यस प्रयास अझ विशेष गरी दिगो र भरपर्दो पुनरुत्थानलाई सहयोग पु‍र्याउन नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न सहयोग पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि तत्पर छौं,” उनले भने ।

बैंकले सन् २०२१ मा नेपालको अर्थतन्त्र २।७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको छ । पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा बैंकको छ । प्रकोप पछिको पुुनःउत्थानलाई तिव्रता दिन र नेपाललाई हरित, भरपर्दो र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो प्लेटफर्म हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *