Sajhamanch Archive

भारतको कुम्भ मेलामा सहभागी १३ सय जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

देहरादुन । भारतको उत्तराखण्ड राज्यमा जारी कुम्भ मेलामा सहभागी झन्डै १३ सयजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । हरिद्वार जिल्लामा अप्रिल १० तारिखदेखि सुरु भएको कुम्भ मेलामा सहभागीमध्ये एक हजार २७८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको प्रमुख मेडिकल अधिकृत डा। एसके झाले बताएका छन् ।

अप्रिल १३ र १४ मा मेलामा सहभागीहरुको परीक्षणको तथ्यांक आइनसकेकाले यो संख्या थप बढ्ने जनाइएको छ । उत्तराखण्डको उच्च अदालतले दैनिक कम्तीमा ५० हजारको कोरोना परीक्षण गर्न र प्रत्येक तीर्थयात्रीले अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो ।

मेलामा दैनिक औसत ३० लाखले शाही स्नान गरिरहेका कुम्भ मेलाका इन्चार्ज प्रहरी महानिरीक्षक सन्जय गुन्जायललाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । मेला सुरु भएयता हालसम्म दुई लाख २८ हजार ६५० एन्टिजेन, पीसीआर र ट्रु–नाट विधिबाट कोरोना परीक्षण गरिएको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना संक्रमितको संख्या दैनिक बढे पनि अधिकारीहरुले भने कुम्भ मेला नछोट्ट्याउने बताएका छन् । हरिद्वारका जिल्ला मजिस्ट्रेट तथा कुम्भ मेलाका अधिकारी दीपक रावतका अनुसार मेला छोट्ट्याउने विषयमा कुनै छलफल नभएकाले मेला अप्रिल ३० सम्म चल्नेछ ।

कुम्भ मेलामा सहभागी नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले अप्रिल १२ मा शाही स्नान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *