Sajhamanch Archive

नेपालगन्जका विद्यालय एक साता बन्द गर्न, उपमहानगरको निर्णय

Published: in मिडियाबाट साभार, समाज, by .

 

 

नेपालगन्ज । कोरोना संक्रमण तीव्र भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो

नेपालगन्ज उपहानगरकी उपप्रमुख उमा थापामगरले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताइन् ।

‘विद्यालयमा संक्रमण तीव्र रूपले फैलिएकाले पठनपाठन बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘हामीले शुक्रबारदेखि नै बन्द गर्ने प्रस्ताव गरेका थियौं तर सबैलाई जानकारी पुर्‍याउन आइतबारबाट बन्द गर्ने निर्णय भयो ।’

बैठकले अत्यावश्यकबाहेकका पसल तथा व्यवसाय पनि कम्तीमा एक साता बन्द गर्ने, सीमा–नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणमा कडाइ गर्ने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत बोर्डिङ स्कुल निर्बाध रूपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रूपमा दबाब बढेको थियो । भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन् । ‘कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले पालना गरेको पाइँदैन,’ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले भने, ‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन् ।’

पछिल्लोपटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरका शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माविका २ शिक्षक र २ विद्यार्थी, मंगलप्रसाद माविका २ जना, सेन्ट थोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आदर्श माविका एकरएकजना शिक्षक, आदर्श मावि र सनविम माविका एकरएक विद्यार्थीमा कोरोना पुष्टि भएको छ । ‘थुप्रै विद्यालयका शिक्षक र विद्यार्थी कोरोना संक्रमित भएर पनि जानकारीमा नआएको हुन सक्छ,’ उनले भने, ‘नेपालगन्जका धेरैजसो विद्यालयमा संक्रमण फैलिसकेको छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *