Sajhamanch Archive

बाँकेमा कोभिड संक्रमितको तथ्यांक उच्च, १८३ जनाको परीक्षणमा १२७ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । पछिल्लो साता बाँकेको नेपालगञ्जमा क्षेत्रमा कोभिड १९ संक्रमितको तथ्यांक उच्च देखिएको छ । बिहीबारसम्म संकलन गरिएका नमूनामध्ये भेरी अस्पतालमा मात्रै १८३ जनाको परीक्षण गर्दा १२७ जनाको नतिजा पोजेटिभ आएको छ ।

त्यस्तै नेपालगञ्ज मेकिडल कलेजमा विगत २४ घण्टामा ४५ जनाको परीक्षण गरिएकोमा ४५ जनाकै नतिजा पेजेटिभ देखिएको छ ।बिहीबारसम्म नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै संक्रमितको संख्या २ हजार ७७६ जना पुगेको उपमहानगरका कोभिड फोकल पर्सन रामबहादुर चन्दले बताए ।

नेपालगञ्जमा तीनवटा प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ जसमध्ये दुईवटाको पछिल्लो चौबीस घण्टाको नतिजा उच्च देखिएको हो ।

भेरी अस्पतालका सूचना अधिकारी संकेत कुमार रिसालका अनुसार कूल १२५ मध्ये ७२ वटा बेड कोभिड संक्रमितले भरिएका छन् भने दैनिक १० जनाभन्दा बढी संक्रमित बेडका लागि पर्खिने गरेका छन् ।

रिसालले भने, “अरु रोगका बिरामी धमाधम डिस्चार्ज गरेर कोभिडका बिरामी भर्ना लिन थालेका छौं त्यति गर्दा पनि सबैलाई भर्ना लिन सकिएको छैन, परीक्षण गर्नेको भीड पनि उस्तै छ यही दरमा संक्रमित बढ्दैगए कसरी धान्ने भन्नेमा अस्पतालमा छलफल सुरु भएको छ ।”

संक्रमितमध्ये ८० प्रतिशत बाँके जिल्लाका समुदायबाटै आउने रहेको र उनीहरुको कुनै ट्राभल हिस्ट्री नरहेको रिसालले बताए ।

जिल्लाका खजुरा, राप्तीसोनारी लगायतका क्षेत्रबाट संक्रमित धेरै आउने गरेका छन् भने अधिकांस संक्रमित १८ देखि ४० बर्षसम्मका र ७५ बर्षमाथिका ज्येष्ठ नागरिक छन् ।

त्यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार गरिएको परीक्षणमा सतप्रतिशत नतिजा पोजेटिभ आएको छ, कलेजमा ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजो पोजेटिभ देखिएको हो ।

अस्पताल प्रशासनका अनुसार नेपालगञ्ज क्षेत्रमा संक्रमितको संख्या उच्च हुँदै गएपछि आजदेखि नेपालगञ्ज मेडिकल कलेजमा पनि कोभिड संक्रमितको भर्ना लिइने भएको छ ।

पछिल्लो समय देखिएको संक्रमितको संख्या नियन्त्रणका लागि उपमहानगरले भारतका सीमा नाकामा कडाइ गरिरहेको, जिल्लाबाट अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि बाहिर जान बन्द गरिएको र आइतबारदेखि नगर क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गरिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *