Sajhamanch Archive

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने तीनजनाले मन्त्रीको शपथ लिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेकपा एमालेका तीन पूर्वनेताले आज मन्त्री पदको शपथग्रहण गर्दै छन् ।

उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाइएको सांसद विन्दमान विष्टले जानकारी दिए । शपथको समय भने तय गर्न बाँकी रहेको उनको भनाइ थियो ।

फ्लोर क्रस पार्टीको ह्वीप उल्लंघन गर्नेमध्ये कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री बनाउने निर्णय भएको विष्टको भनाइ छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेपाली कांग्रेसका ६ सांसदले पनि पक्षमा मतदान गरेका थिए । कांग्रेस भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारमा सहभागी हुने नीति नरहेको बताए ।

“केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम पुस ५ गते संसद् विघटनको सिफारिसको विरूद्ध माओवादी केन्द्रसँग गठबन्धन बनेको हुनाले अन्तिम समयमा प्रस्तावको पक्षमा मतदान गर्ने निष्कर्षमा पुगेका हौँ । अहिले नै मन्त्री बन्ने कुनै नीति छैन,” उनले भने ।

फ्लोर क्रस गर्ने कारबाही सिफारिस गरिएको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला भने सरकारमा सहभागी नहुने भएका छन् । उनी केही दिनअघि मात्रै सरकारबाट बहिर्गमन भएका थिए ।

उनी एमाले खनाल–नेपाल समूहको प्रदेश संयोजक भएकाले अहिले सरकारमा सहभागी नहुने बताइएको छ । उनी केही समय पार्टी काममै केन्द्रित हुने उनी निकटस्थले बतायो ।

अहिले नियुक्त भएका तीन मन्त्रीको पदावधि ६ महिनाको हो । फ्लोर क्रस गरेकाले उनीहरूको सांसद पद निलम्बनमा परेको छ । संविधानमा मन्त्री बनेको ६ महिनाभित्र सांसद हुनुपर्नेछ । अन्यथा, मन्त्री पद जानेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *