Sajhamanch Archive

एमालेले बबरमहलमा वैशाख ९ गते पार्टी कार्यालय सार्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नयाँ वर्षका दिन सर्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी कार्यालय यही वैशाख ९ गते सर्ने भनिएको छ । त्यही दिन बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी रहेको एमाले स्रोतले जानकारी दियो ।

“तयारी नपुगेकाले वैशाख १ गते सर्न सकिएन । ९ गते सार्ने तयारी गरेका छौँ,” एमालेका एक पदाधिकारीले बाह्रखरीसँग भने, “त्यही दिन बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास पनि हुनेछ ।”

एमालेको पार्टी कार्यालय पासाङल्याह्मु स्मृति भवन धुम्बाराहीबाट बबरमहलस्थित भाडाको घरमा सर्न लागेको हो । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले बल्खुको चारतले भवन खन्डहर तुल्याएपछि त्यही वर्ष साउन २३ गते धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।

पासाङल्याह्मु स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा तेस्रो पक्षलाई भाडामा लगाइएको भन्दै आलोचना चुलिएको थियो । पार्टीले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।

अहिले घरधनीले नै खाली गर्न भनिएपछि नयाँ भवन खोजिएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका थिए । अहिलेको भवन सांसद मोतीलाल दुगडले खोजेका हुन् । एमाले बस्न लागेको घर व्यापारी सञ्जय अग्रवालको हो ।

एमालेले यसअघि धुम्बाराहीमा मासिक एक लाख ५० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको बताएको थियो । अहिले भाडाबापत रकम भुक्तानी गर्नु नपर्ने दुगडले जानकारी दिएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत चैत ११ गते सर्न लागेको घरको निरीक्षणसमेत गरेका थिए ।

तीनपटक तोकियो शिलान्यासको मिति
भूकम्पले पार्टी कार्यालय ध्वस्त बनाएपछि एमालेले बल्खुमै अत्याधुनिक भवन बनाउने भनेर समिति नै बनाएको थियो । भवन निर्माण समितिले भवनको डिजाइन तयार पारेर रकमसमेत उठाएको थियो ।

भवन निर्माण गर्न पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य परशुराम मेघी गुरूङ, विष्णु रिमाल, रवीन्द्र अधिकारी, सोमप्रसाद पाण्डे, हिक्मत कार्की, विनोद ढकाल, केदार सन्जेल, भरत पहाडी सदस्य रहेको कमिटी गठन गरेर तत्कालै शिलान्यास गर्ने भनिएको थियो ।

धुम्बाराहीमा भवन सारेपछि त्यसैलाई स्थायी कार्यालयजस्तो बनाइएको थियो । माओवादी केन्द्रसँग पार्टी एकता गरेको दुई वर्षपछि पार्टी कार्यालय आवश्यकता महसुस गरेर गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको थियो । लगत्तै कोभिड–१९ को कहर सुरु भएको भन्दै निर्णय बेवारिशे बनेको थियो ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एकता रद्द गरिदिएपछि एमाले पार्टी कार्यालय शिलान्यास गर्न जुर्मुराएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *