Sajhamanch Archive

उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

 काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार र सोमबार दुई दिनमा नै साढे ७३ अंकभन्दा माथिले घटेको नेप्सेमा मंगलबार भने साढे २ अंकको सामान्य सुधार भयो ।

तर, मंगलबार सुधारको आशा देखिएको सेयर बजार घट्ने क्रमले आज बुधबार पुनः निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक नेप्से ३२.४१ अंकले घट्दा २६३२.४१ अंकमा बन्द भएको छ ।

यो साताको चार कारोबार दिनमा तीन दिन ओराला लाग्दा बजार परिसूचक गत सातको अन्तिम कारोबार दिनको हालसम्मकै उच्च विन्दुबाट १०० अंकभन्दा बढीले घटेको छ ।

गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक विन्दुमा पुगेको बजार परिसूचक चार कारोबार दिनमा नै करिब १०३ अंकले झरेको छ ।

बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । अघिल्लो साता ९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार पौने ६ अर्बमा सीमित भएको छ । आज नेप्सेमा १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड २२ लाख ५१ हजारको कारोबार भयो ।

बुधबार म्युचुअल फन्डबाहेक सबै उपसूचक ओरालो लाग्दा विकास बैंक उपसूचक सर्वाधिक २.१ प्रतिशतले घटेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.५९ प्रतिशतले ओरालो लाग्यो ।

आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबार रकममा लिड गरेको छ । बैंकको सर्वाधिक २५ करोड ४५ लाख ९९ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको २२ करोड ६ लाख २५ हजार रुपैयाँको कारोबार भयो ।

नेप्से लगातार घट्दा पनि ज्योति लाइफ, महिला लघुवित्तको सेयर मूल्यमा लगातार रुपमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । नयाँ सूचीकरण भएर नेप्सेमा चैतदेखि कारोबार सुरु भएका दुवै कम्पनीमा आज पनि सकारात्मक सर्किट लागेको हो ।

यस्तै, आज नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यता, लिवर्टी इनर्जी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतमाथिले घटेको छ ।

आज नेप्सेमा कारोबार भएको १५० कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको बढ्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *