दिल्लीका ५० प्रतिशत संक्रमितमा डबल म्युटेन्ट र युके भेरियन्ट
Published:
by .काठमाडौं । कोरोनाले थला परेको भारतको अवस्था अहिले अत्यन्तै खराब छ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ–नयाँ भेरियन्ट देखापरेपछि भारतका विभिन्न प्रान्तको अवस्था नियन्त्रण भन्दा बाहिर गएको छ ।
कोरोनाले नयाँ दिल्ली पनि निक्कै प्रभावित छ । दिल्लीमा देखिएका आधाभन्दा बढी संक्रमितमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखापरेको त्यहाँको सरकारी निकायले जनाएका छन् ।
नेशनल सेन्टर फर डिजिज कन्ट्रोल भारतका प्रमुख डा. सुजित सिंहका अनुसार दुई साता अगाडिदेखिका नमूना परीक्षण गर्दा ५० प्रतिशतभन्दा बढीमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्ट देखिएका हुन् ।
भारतको दिल्लीमा मात्र गत २४ घण्टामा २६ हजार १६९ मा कोरोना देखिएको छ । जसमा १३ हजारभन्दा बढी डबल म्युटेन्ट र युके भेरियन्टबाट संक्रमित छन् । दिल्लीमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय दिल्ली कोरोनाको इपिसेन्टर नै बनेको छ । दिल्लीमा कोरोना संक्रमणबाट हालसम्म १३ हजार १९३ जनाको ज्यान गइसकेको छ ।
भारतमा युके भेरियन्ट र भारतीय डबल म्युटेन्ट भेरियन्टसँगै दक्षिण अफ्रिकी भेरियन्ट र ब्राजिलियन भेरियन्ट पनि देखिएका छन् । पछिल्लो समय बंगालमा नयाँ प्रकारको भेरियन्ट पनि भेटिएको छ । यसलाई त्रिपल म्युटेन्ट पनि भन्ने गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर यसको चर्चा खासै भएको छैन ।
Comments