Sajhamanch Archive

चितवनमा भत्केको पुल बनाउने क्रममा त्रिशूली नदीमा खसेर एकको मृत्यु ,८ घाइते र २ बेपत्ता

Published: in मिडियाबाट साभार, समाज, by .

चितवन । चितवन र तनहुँलाई जोड्नेगरी बन्दाबन्दै भत्किएको पुल निर्माणकाक्रममा पुलको फलामले च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

८ जना मजदुर घाइते भएका छन्।

नदीमा खसेर फलामले च्यापिएका दुई जना मजदुरको अझै उद्धार हुन सकेको छैन।

भरतपुर महानगरपालिका–१ को ठिमुरालाई देवघाटसँग जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूली नदीमा खसेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए।

मृत्यु हुनेमा भारत घर भएका ४३ वर्षीय विजय यादव छन्। उद्धार गरिएकाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

उपचारकाक्रममा एक जनाको मृत्यु भएको हो। अन्य दुई जनाको उद्धारको प्रयास भइरहेको चितवन प्रहरीले जनायो।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख ईञ्जिनियर कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए।

पुल निर्माणको काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आइतबार बिहानैदेखि १८ मजदुर कामका लागि गएको जानकारी दिए।

ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८ . ५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *