Sajhamanch Archive

साँझ बोलाइयो मन्त्रिपरिषद् बैठक, निषेधाज्ञासम्बन्धी निर्णय हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ ।

कुन–कुन जिल्लामा हुन सक्छ निषेधाज्ञा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा पाँच सय सङ्क्रमित नाघेका छन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले बाँकेमा सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ । रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु गरिसकेको छ । उपत्यकाको तीन जिल्लाका सीडीओ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *