Sajhamanch Archive

प्रदेशसभाका तीन कर्मचारीमा कोरोना, बैठक स्थगित

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोमबार कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको छ ।

मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रन्जित यादवले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीको अवस्था सामान्य छ । उनीहरूमा कोरोनाको लक्षण देखिएपछि जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

कर्मचारीमा संक्रमण देखिएलगतै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित ६५ जनाको स्वाब परीक्षण गरिँदै छ । स्वाब दिएका सबैको रिपोर्ट भोलिसम्म आउने निमित्त सचिव यादवले बताए ।

गएको चैत ३० गतेबाट सुरु भएको प्रदेशभाको पाँचौँ अधिवेशनपछि वैशाख १० मा दोस्रो बैठक बसेको थियो । पाँचौँ अधिवेशन सुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रक्रिया जारी छ । वैशाख १० गतेको बैठकमा प्रदेशसभा सदस्यहरुले दर्ता गराएको राजधानीसमबन्धी प्रस्तावमाथि छलफल भएको थियो भने आउँदो बैठकमा नामकरणसम्बन्धी दर्ता भएको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *