Sajhamanch Archive

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

मकवानपुर । वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिएलगतै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले तीन मन्त्रीलाई शपथ ग्रहण गराए । त्यसैगरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक राज्यमन्त्रीलाई शपथ ग्रहण गराए ।

प्रदेशमा रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा सरेश नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डाक्टर रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले नियुक्त गरेका हुन् ।

नेकपा एमालेको सरकार रहेको वागमतीमा गएको पुस १० गते तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएपछि वाग्मतीका तीन मन्त्रालय मन्त्रीविहीन थियो ।

तीन वटै मन्त्रालय मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए। झन्डै चार महिना मन्त्रीविहीन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *