Sajhamanch Archive

महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव, एक सातामा आठको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ । पर्याप्त मात्रामा अक्सिजन र स्वास्थ्य सामग्री नहुँदा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ ।

सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो सरकारी अस्पतालका रुपमा रहेको महाकाली अस्पतालमा ४० वटा मात्रै अक्सिजन सिलिन्डर छन् । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले भने, “अवस्था निकै भयावह छ । एकैजनालाई ३,४ वटा अक्सिजन सिलिन्डर दिनुपर्ने अवस्था छ । मन्त्रालयसँग अक्सिजन प्लान्टको माग गरिरहेका छौँ । हामीसँग ४० वटा मात्रै सिलिन्डर छ । ३० कोरोना संक्रमितकै उपचारमा प्रयोग छ ।”

अध्यक्ष जोशीका अनुसार अस्पतालमा एन्टिजेन किटको समेत अभाव छ । अस्पतालमा अहिले ६५ कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा ६ जना, भेन्टिलेटरमा ६ जना र एचडीयूमा १५ जना छन् । दैनिक संक्रमितको संख्या थपिदै गएसँगै उपचारमा पनि चुनौती थपिएको जोशी बताउँछन् ।

यस्तै, कञ्चनपुरमा पछिल्लो एक सातामा कोरोनाका कारण आठजनाले ज्यान गुमाएका छन् । अस्पतालका अनुसार बुधबार मात्रै तीनजनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा अधिकांश भारतबाट फर्कनेहरु छन् ।

अध्यक्ष जोशीका अनुसार अस्पतालमा चार चिकित्सकसहित २३ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा समेत समस्या भएको छ ।

अस्पतालले केन्द्र र प्रदेश सरकारसँग थप जनशक्तिको समेत माग गर्दै आएको छ । कञ्चनपुर भारतीय सीमासँग जोडिएकाले गड्डाचौकी नाका हुँदै दैनिक सयौँ नेपाली स्वदेश फर्कने क्रम जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *